लक्ष्मीनिया । मोरङको जहदा गाउँपालिका वडा न. ३ बनर खोखिया टोलमा एकजना बालकमा हात्तीको टाउको जस्तो डल्लो छ । १३ वर्षिय सुरज राजवंशीको टाउकोमा पलाएको त्यस डल्लोको आर्थिक अभावका कारण परिवारले उपचार गर्न सकिरहेका छैनन् ।
महेन्द्र आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत सुरज पढाइ, चित्रकला र मादल बजाउनमा अब्बल छन् । अहिलेसम्म सुरजको टाउकामाथिको भागमा रहेको पाँचवटा डल्लोको वारेमा कसैले चासो नदिएकै कारण डल्लो बढ्दै गएको हो ।
सुरजको परिवारमा बुवा अवधनारायण राजवंशी बाबा जुट मिलमा मजदुरी गर्छन् भने आमा ईटाभट्टामा काम गर्छिन् । सुरजको हजुरबुवा विगत ७–८ वर्षदेखि प्यारालाईसिस भएर घरमै बसेका छन् भने हजुरआमा उनकै स्याहारसुसारमा दिन बिताउँछे । सुरजको एकजना दिदी पनि छिन्।
आमा लहसनियादेवी राजबंशीका अनुसार सुरज जन्मिएदेखि नै टाउकोमा पाँचवटा डल्लो देखिएको थियो । डाक्टरलाई देखाउँदा सबी ठीकै छ भनेपछि अरु कही उपचारको लागि नलगेको उनले बताइन् । ‘जसको परिणाम सुरज संगसंगै टाउकाको डल्लो पनि बढिरहेको छ ’ उनले भनिन् , ‘छोरालाई केही समस्या त देखिएको छैन तर समाजले छोरालाई पाँच टाउके, हात्ती टाउके भनेर हैरान पारेका छन् ।’
हरेक गाउँपालिकाहरुको वडा–वडामा स्वय सेविका नियुक्त गरेका हुन्छन् । स्वयम सेविकाले हरेक बालबालिको स्वास्थ्यको वारेमा वडालाई र गाउँपालिकालाई जानकारी गराउँनु पर्छ तर १३ वर्ष वितिसक्दा पनि यसबारेमा न त स्वयम सेविका र न त विद्यालयको शिक्षकहरुले चासो नलिनु विडम्बना भएको छ । त्यस्तो स्वम सेविका र शिक्षकलाई राज्यले कारवाही गर्ने कि नगर्ने ?
गाउँ भन्दा बाहिर कसैलाई थाहा नरहेको खण्डमा गायक बिष्णु राजबंशीले आफ्नो फेसबुक पेजबाट सुरजको भिडिओ बनाइ पोस्ट गरेका थिए। घन्टौ नबित्दै उक्त भिडियोमा हजारौ भ्यु र लाइक को साथ भिडिओ भाइरल बन्यो। त्यस्पछी सुरजको घरमा विभिन्न मिडिया र अनलाइन न्युज को घुइचो लग्न थाल्यो ।
सुरज राजवंशीको परिवारको आर्थिक अवस्था कमजोर छ । छोरालाई पनि कुनै समस्या नभएकाले उपचारको लागि कही नलगेको लहसनियादेवीले बताइन् । ‘छोराको उमेरसंगै टाउकाको डल्लो बढेकोले उपचारको लागि लान्छु तर त्यसको लागि सहयोगी हातहरु भए मात्र मेरो छोराको उपचार सम्भव छ ’ उनले सहयोगको याचना गर्दै भनिन् ।